कुनै व्यक्तिको अनुमति वा सहमति बिना उसको चल वा अचल सम्पत्ति, आयश्रोत वा रोजगारीको अवसर लगायतका वित्तीय साधनहरुको पहुँच वा प्रयोगमा रोक लगाउनु, सहमति बिना आफुले प्रयोग गर्नु अथवा वित्तीय निर्णयमा हस्तक्षेप गर्नु वित्तीय शोषण हो ।
भावनात्मक वा सामाजिक परिबन्धमा परेर आफ्नो इच्छा विपरीत अरु कसैलाई आफ्नो वित्तीय श्रोतमा पहुँच दिनु पर्ने अवस्था आएमा त्यो पनि एक किसिमको वित्तीय शोषण हो ।
वित्तीय शोषणमा जुनसुकै आय, उमेर, शैक्षिक स्तर, सामाजिक तथा भौगोलिक पृष्ठभूमीका व्यक्ति पर्न सक्छन् भने विशेषगरी महिला, वृद्ध र अशक्तहरु यसको उच्च जोखिममा रहेको पाइन्छ ।
आफूलाई वित्तीय शोषण गर्ने प्राय टाढाको भन्दा आफ्नै परिवार, नजिकका आफन्त, साथीभाई वा सहयोगी पनि हुन सक्छन् । वित्तीय शोषणले व्यक्तिको अधिकार तथा आर्थिक स्वतन्त्रता हनन गर्नुका साथै आत्मनिर्भरता तथा आत्मविश्वास पनि गुम्दै जान सक्छ। यसले सामाजिक उत्थान र प्रगतिमा समेत नकारात्मक असर पार्दछ ।